Wednesday 2 December 2009

धरानमा चासोक तङनाम भव्य रुपमा मनाइयो

इटहरी । आदिवासी जनजाति लिम्बु, राई, याक्खा, सुनुवार समुदायको महत्वपूर्ण चाड ‘चासोक तङनाम’ सुनसरीको धरानमा भव्य रुपमा मनाइएको छ ।
उधौली पर्वका रुपमा मनाइने सो पर्वमा आदिवासी जनजातिहरुले बालीको पूजासहित भूमिपूजन गरी सो जातिका मानिसका रोगव्याधी नलागोस् भन्ने कामना गरिन्छ ।
मंगलबारैदेखि सुरु भएको उधौली चासोक तङनाम पर्वले धरानलाई जातीय पहिचानसहितको धरान साँस्कृतिक सहरको झझल्को दिएको छ ।
बुधबार बिहानै आदिवासी जनजाति समुदायले विजयपुरगढीको हाङयुक्ना दरबारको परिक्रमा गरी विधिवतरुपमा चासोक तङनाम उधौली पूजाको शुभारम्भ गरेका थिए ।
थरगत, थुमगत र साँस्कृतिक केलाङ, यालाङ प्रदर्शनसँगै महोत्सवका रुपमा आयोजना गरिएको चासोक तङनाम पर्वको सभामुख सुवास नेम्बाङले आज धाननाच नाचेर उद्घाटन गर्नुभयो ।
यही मङ्सिर २० गतेसम्म मनाइने सो पर्वलाई महोत्सवका रुपमा किराँत याक्थुङ चुम्लुङले किराँत माङहिम धरान-१५ मा आयोजना गरेको छ ।
सो अवसरमा सभामुख नेम्बाङले किराँत राई जातिले चाहेको स्वतन्त्रतासहितको स्वायत्त राज्यप्राप्तिका लागि गरिँदै आएको न्यायोचित आन्दोलनले सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभयो ।
उहाँले सबै जाति, भाषा र संस्कृति भएका नेपाली जनजातिहरुको समान सहभागिता र सहकार्यबाट मात्र देशको समग्र विकास सम्भव हुने दाबी गर्दै मुलुकको हितका लागि राजनीतिक दलहरुले आपसी किचलो त्यागेर एकैथलोमा आउनुपर्नेमा जोड दिनुभयो ।
संसद अवरुद्ध हुँदा जनताको हकअधिकार कुण्ठितमात्र नभई देशको समग्र विकास प्रक्रियामा नै कालो तुवाँलो लाग्छ भन्दै सभामुख नेम्बाङले यस्तो क्रियाकलापबाट राजनीतिक दलहरुसमेत कमजोर हुने भएकाले सबै राजनीतिक दललाई संसद अवरुद्ध पार्ने कार्य तत्काल त्याग्न आग्रहसमेत गर्नुभयो ।
सभामुख नेम्बाङले जनआकांक्षालाई पूरा गर्नका लागि पनि तोकिएकै समयमा संविधान बन्नु जरुरी रहेको उल्लेख गर्दै समयमा नै संविधान निर्माण गर्ने परिस्थिति बन्ननसके देशमा गम्भीर स्थिति उत्पन्न हुनसक्ने पनि स्पष्ट गर्नुभयो ।
सभामुख नेम्बाङले किराँतहरुको महान गुरु तथा समाजसुधारक महागुरु फाल्गुनन्दलाई राज्यले राष्ट्रिय विभूतिको सम्मान दिएर समग्र आदिवासी जनजातिको भावनालाई उचो बनाउने कार्य गरेकोमा सरकारलाई सबैले धन्यवाद दिनुपर्दछ भन्नुभयो ।
सोही समारोहमा सभामुख नेम्बाङले अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी नरेन्द्र पोमो, सगरमाथा आरोही जुनिता सम्बाहाम्फे, लोकगायक खगेन्द्र याक्सो, सङ्गीतकार कुशल थलुङ, कलाकार शोभा खजुम, गीतकार नवीन थेवेलगायतलाई सम्मान गर्नुभयो ।
किरात याक्थुङ चुम्लुङ धरान नगर समिकिा सभापति प्रदीप मेयाङवोको सभापतित्वमा भएको सो कार्यक्रममा दुर्गामाया लिम्बु, गजेन्द्र इश्वोलगायतले पनि बोल्नुभएको थियो ।
चासोक तङनाम समारोहमा आदिवासी जनजातिको पहिरन, खानपान र रहनसहन झल्किने विभिन्न स्टल समेत राखिएका छन् ।
यसअधि सभामुख नेम्बाङले धरान, तीनकुनेमा रहेको किराँत श्रीजङ्गा लिपिका आविष्कारक श्रीजङ्गाको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बु संसार // ताजा समाचारहरु

True Contemplation Blogger Template by M Shodiq Mustika