Saturday 5 December 2009

खाडीमा महिला कामदार पठाउन खुल्ला

काठमाडौ, २०६६ मंसिर २० – महिला श्रमिकका लागि आकर्षक गन्तव्यहरू इजरायल, हङकङ र लेबनानमा रोजगारी बन्द भएपछि सरकारले ‘संस्थागत र सुरक्षित संयन्त्र’ का साथ उनीहरूलाई खाडीमा काम गर्न जान दिने भएको छ । श्रम मन्त्रालयमा बिहीबार बसेको बैठकले महिला कामदारलाई सुरक्षाको प्रत्याभूति दिएर संस्थागत रूपमा खाडी मुलुकमा पठाउने निर्णय गरेको हो ।
वैदेशिक रोजगारीमा महिलाहरू घटदै गएपछि फेरि खाडीका संगठनात्मक र औपचारिक क्षेत्रहरू रोज्न लागिएको मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले बताए ।
खाडीका कतार, साउदी अरेबिया र यूएई नेपाली कामदारको प्रमुख गन्तव्य हो । यी मुलुकमा महिला कामदारको निकै माग भएको वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष तिलक रानाभाटले बताए ।
सुरक्षा संयन्त्र तय गर्नका लागि बैठकले वैदेशिक रोजगार व्यवसायीका लागि निश्चित सर्त तोकिदिएको छ । सर्तमा व्यवसायीले एजेन्ट/ कामदारबीच सम्पर्कको बिन्दु कायम हुनुपर्ने, परिवारसँग सम्पर्क माध्यमको व्यवस्था गर्नुपर्ने, दूतावाससँग निरन्तर सम्पर्क, समन्वय र सम्बन्ध कायम गर्नुपर्ने, औपचारिक क्षेत्रमा भनेर अनौपचारिक क्षेत्रमा लैजान नपाउने, सेफ हाउसको व्यवस्था गर्नुपर्ने, स्वदेशी विमानस्थल नै प्रयोग गरेर गन्तव्यमा उड्नुपर्नेलगायत प्रावधान छन् । यी सर्त पालन गरेमा औपचारिक क्षेत्रका सुरक्षा गार्ड, रिसेप्सनिस्ट, नर्स, सुपरमार्केट, एयर होस्टेज, क्लिनिङ सेक्टरका सात
क्षेत्रमा पठाउने वैदेशिक रोजगार विभागमा महानिर्देशक मोहनकृण्ण सापकोटाले बताए । वैदेशिक रोजगार ऐनले भने वैदेशिक रोजगारीमा जान महिलालाई बन्देज लगाइएको छैन । तर सुरक्षाको दृष्टिकोणले खाडी मुलुकमा महिला कामदारलाई पठाउन कडाइ गर्दै आएको छ ।
भारतीय बाटो हुँदै गैरकानुनी रूपमा खाडी मुलुकमा जाने महिला कामदारको सख्या झन्डै ७० हजार रहेको अनुमान छ । उनीहरूमध्ये अधिकांश घरेलु कामदार छन् । घरेलु कामदारमा श्रम ऐन नलाग्ने हुँदा निकै जोखिम र असुरक्षा छ । भट्टराईका अनुसार अहिलेको अवस्थामा घरायसी काम -हाउस मेड) मा पठाउन सक्ने अवस्था छैन । केबल सुरक्षाको प्रत्याभूति दिई औपचारिक क्षेत्रमा पठाउन लागिएको हो । संस्थागत अनुमति भए पनि गत वर्ष विभागले खाडीका ६ मुलुकका करिब पाँच सय महिलालाई अनुमति
दिएको थियो ।
घरेलु कामदारका लागि सबैभन्दा सुरक्षित, मर्यादित र आम्दानी राम्रो भएको हङकङले सन् २००५ जुन ६ देखि नै नेपाली कामदारलाई प्रतिबन्ध लगाएको छ ।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बु संसार // ताजा समाचारहरु

True Contemplation Blogger Template by M Shodiq Mustika